जावलाखेलमाथि मछिन्द्रको जित

admin

काठमाडौँ, मङ्सिर २२ : जावलाखेल युथ क्लबमाथि सहज जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

जावलाखेललाई २–० ले पराजित गर्दै शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा रहेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले को अगता लिन सफल भएको हो ।

खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो । मनिष डाँगीको कटब्याक पासमा अभिषेक रिजालले दिएको क्रसलाई सिमन्तले आफ्नै पोस्टको दिशा दिएका थिए । १९औं मिनेटमा ओनगुना निकेंगे जुनियरको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए ।

२१औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा सिधै गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । नुर्लान नोभ्रुजोभलाई लोइस जिमी कोउहाहिमले फउल गरेपछि प्राप्त फ्रिकिकमा रन्जितले सिधै गोल गरेका थिए । ३४औं मिनेटमा लोइस जिमी कोउहाहिमको प्रहार दोस्रोबार नजिकैबाट थोरै बाहिरिदा जावलाखेल अग्रता कम गर्नबाट चुक्यो ।

५९औं मिनेटमा विशाल राईको कर्नरलाई ओनगुना निकंगेले क्लियर गर्दै जावलाखेलको संकट टारे । लगत्तै रन्जित धिमालको कर्नरलाई मनिष डाँगलीले सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए ।

७७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले वान भर्सेस वानको अवस्थामा मौका पाएपनि प्रहार गर्न ढला गर्दा उनको प्रहारलाई सिमन्त थापाले ब्लक गर्दै बचाए । दोस्रो हाफमा जावलाखेलले सुढृड खेल पस्केपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । मच्छिन्द्रले भने दोस्रो हाफमा खासै आक्रमण बुन्न सकेन ।

प्रतिक्रिया