जिब्रो छेड्ने जात्रा : आठौँपटक छेडे बुद्धकृष्णले जिब्रो

admin

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउनुभएको छ । मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौ पटक जिब्रो छेडाउनुभएको हो ।

यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालदेखि लगातार जिब्रो छेडाउर्दै आउनुभएको छ । पेशाले एम्बुलेन्स चालक रहनुभएका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाउनुभएको थिएन ।

जिब्रो छेडाउका लागी बुद्धकृष्ण बाग श्रेष्ठ तीन दिन भोकै बस्नुभएको थियो भने करिब १ फिट लामो सियोलाई एक महिना देखि तेलमा डुबाइ राखिएको थियो ।

जिब्रँे छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरिएको थियो ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।

भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।

प्रतिक्रिया