जिहादीको आक्रमणमा बाह्र सर्वसाधारण मारिए

शर्मिला गुरुङ

ओवागाडोउगोउ, बुर्किना फासो, २८ पुस (रासस÷एएफपी) : जिहादी विद्रोहीहरुको आक्रमणमा परी उत्तरी बुर्किना फासोमा बाह्र सर्वसाधारण मारिएका छन् । इस्लामिक कट्टरपन्थीहरुको हिंसाको असर फैलिएको सो ठाउँमा गत बिहीबार घटना भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

पश्चिमी अफ्रिकी यस मुलुकका विभिन्न राज्यहरुमा सरकारले संकटकालको घोषणा गरेको थियो । सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीहरुले हिंसा मच्चाएको उल्लेख गरिएको छ ।

पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा परी एउटा घर , एक कार तथा छ ओटा पसलहरुमा क्षति पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । उत्तरी बुर्किना फासोमा जिहादीहरुले सन् २०१५ बाट आक्रमण गर्न थालेका हुन् ।

प्रतिक्रिया