जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने ख’तरा

admin

काठमाडाैं, २४ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । गत बुधबार ४ हजार ८ सय ६, बिहीबार ४ हजार ५ सय ३७, शुक्रबार ४ हजार ४ सय ८३, शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, गत आइतबार ४ हजार ७ सय १०, सोमबार ४ हजार ७ सय २१ र हिजो मंगलबार ६ हजार १ सय ३३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनको अवधिमा ६ हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । गत ९ असारमा १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएकामा मंगलबार संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो ।

मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पिसिआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’

काठमाडौं उपत्यका कोरोनाको हट स्पट बन्ने खतरा बढेको विज्ञहरुको भनाइ छ । संक्रमण देखिएका जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं नागरिक काठमाडौं भित्रिँदै आएका छन् । उनीहरुलाई क्वारेन्टिनमा नराखिँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा नराखिँदा उनीहरु घरमा पुगेपछि परीक्षण गर्दा संक्रमण देखिने गरेको बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया