जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, पाँच वर्षमा सात किलो मिटर पनि बनेन

admin

काठमाडौं, ७ असोज : जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको पाँच वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौं सडक विस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुदा स्थानियबासीले सास्ती बेहोर्नु परेको छ ।

पाँच वर्ष सम्म सडक काम नलाग्ने गरि तहसनहस भएको छ । पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ । अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ । मानिसहरु त पैदल हिड्ने चान्सै छैन । लाग्छ उक्त सडक कुनै दुर्गम गाउँ तिरको जस्तो । तर पनि राजधानी काठमाडौंको यस्तो लाजमर्दो अवस्थाको अन्त हुने अझै छाटकाट छैन ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत प्राधिकरण र स्थानीय वडा सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् । वडा अध्यक्षले यस्तो गम्भीर समस्यामा जनताले अनुभुती गर्ने गरि पहल नगरेको स्थानीयको आक्रोश छ । वडा अध्यक्षले यहाँको समस्या बारे पहल र चासो लिएको हामीलाई अनुभुती छैन, बरु उहाँ यी समस्याको मुखदर्शक हो स्थानीयको कडा आक्रोश छ ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानियले मुआब्जा र क्षतिपुर्तीको माग गदै आन्दोलन गरि सर्वोच्चमा मुद्दा हालेका थिए । त्यसपछि सर्वोच्चले स्थानियलाई क्षतिपुर्ती नदिएर आयोजना अगाडी नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपुर्ति नदिएपछि आयोजना थप प्रभावित भयो । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने, स्थानियका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

तर उसले वर्षा, निषेधाज्ञा अनेक कारण देखाउदै हाल सम्म पनि काम पुरा गरेको छैन । नगरपालिका र सडक संर्घष समितिले सहमति गरेपनि कामको गति भने अपेक्षा गरेअनुसार अगाडी बढन सकेन । सडकको हालत खाल्डाखुल्डीमा परिणत छ । कतै कतै गिट्टीहरु थुपारिएका छन् । करिब ६९ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा सडक हिलाम्मे भएर पैदल यात्रु तथा सवारी साधनलाई कष्टकर हुने गरेको छ ।

स्थानिय बुद्धिजीवी प्रल्हाद भण्डारीका अनुसार निर्माण कम्पनीको सम्झौता सकिएपनि पटक पटक थप भएको छ । अहिले सडक अस्तब्यस्त छ,ढलको उचित व्यवस्थापन छैन, पानी छताछुल्ल छ, यसमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ भण्डारी भन्छन् । आशिष सिएम जेभी कम्पनीका प्रतिनिधीका अनुसार विविध लफडाका कारण आफुहरुले एक वर्ष मात्रै काम गर्न पाएको बताए । अहिले पनि काम गर्न चुनौति छ, विद्युत प्राधिकरण र दुरसंचारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भएको छ ।

त्यहि पनि काम भइरहेको कम्पनीको दाबि छ । अहिले वर्षातको कारणले कालोपत्रे नगरिएको हो, अब पानी रोकिने बित्तिकै हामी कामलाई गति दिने छौ, कम्पनीका एक प्रतिनिधिले भने । वडा नम्बर ८ का वडा अध्यक्ष मनोज ढुंगानाले वडाका समस्याहरु प्रति आफूलाई आएको प्रतिक्रियाको बचाउ गरे । यी समस्या बारे वडा अध्यक्ष सँग जिज्ञासा राख्दा उनले भने, केही समस्याहरु छन्, सडकको काम भइरहेको छ, बाटोमा गिट्टीहरु थुपारेको छ, देख्नु भएन ररु उनले प्रति प्रश्न गरे ।

तर वडा अध्यक्षले सडक, खानेपानी, ढल आदि विषयमा अत्यन्तै लापरबाही गरेको व्यापक गुनासो छ । वडामा पानीको पाइप चुहावट भएर सडक हिलाम्मे भए पनि १० दिन सम्म उक्त पाइप मर्मत समेत गर्न वडाले नसकेको स्थानीयहरु बताउँछन् । यस्ता अनेकौं समस्यामा वडा अध्यक्ष अत्यन्तै गैरजिम्मेवार तरिकाबाट अगाडि बढेको पीडितहरु बताउँछन् ।

वडा सरकारको भन्दा टोल सुधार समितिको राम्रो काम
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको सुर्य नगरबेशी टोल सुधार समिति निकै क्रियाशील छ । उक्त टोल सुधार समितिले सार्वजनिक रुपमा धेरै सुधारका देखिने कामहरू गरेको छ ।टोल सुधार समितिले वडाले गर्नुपर्ने कतिपय सुधारका काम आफै गरेको छ । शान्ति सुरक्षाको लागि उक्त समितिले दुई लाख बराबरीको खर्चमा आफ्नो क्षेत्रको सडकमा १२ वटा सिसी क्यामरा जडान गरेको छ ।

यस्तै पोलहरुमा १५ वटा बत्ती जडान गरेको छ भने प्रत्येक घरको पायक पर्ने गरि ४० वटा डस्विन राखेको छ । टोल सुधार समितिका अध्यक्ष शोनाम शेर्पाका अनुसार टोल सुधार सुरक्षाको लागि आफूहरूले व्यक्तिगत लगानीमा पनि काम गरिरहेको बताए । सक्ने जति हामीले गरेका छौ, तर सडकको हालत केही वर्ष यता निकै खराब भयो यो निकै लाजमर्दो भयो अध्यक्ष शेर्पाले भने ।

ढिलासुस्ती र लापरबाहीको पनि हद हुन्छ तर यहाँ त हद पनि क्रस भयो टोल सुधार समितिका अध्यक्ष शेर्पा दुखेसो पोख्छन् । जोरपाटी बाट सुन्दरीजल सम्मको करिब सात किलोमिटर सडकको अवस्थाले शेर्पा जस्तै धेरैलाई दुखि बनाएको छ । समस्याको जति गुनासो गरे पनि समाधान गरिदिने निकाय कोहि नभएको जस्तो छ ।

प्रतिक्रिया