झाँक्रीको कटाक्ष, ‘अरुले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न सकेनन्’

admin

बुटवल, १ असाेज : नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अरुले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको बताउनुभएको छ ।

अहिले नेकपा (एमाले)मा रहेका पूर्व माधवकुमार नेपाल पक्षका नेताहरूप्रति लक्षित गर्दै झाँक्रीले अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गर्नुभयो ।

बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले एमालेका केही नेताहरूले आफूलाई चुनौतीरहित नेता बताउने गरेको स्मरण गर्दै त्यस्तो सपना नदेख्न चुनौती दिनुभयो ।

उहाँले एकीकृत समाजवादी पार्टी एमाले विभाजन भएर नभइ एमालेबाट विद्रोह गरेर निर्माण भएको जिकिर गर्नुभयो । सलाईको काँटीको झिल्को बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त पार्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एकीकृत समाजवादीले ४० प्रतिशत युवाहरू अनिवार्य केन्द्रीय कमिटीमा राख्ने व्यवस्था गरेर नवजवानहरूको पार्टी बनाउन खोजिएको बताउनुभयो । नेपाललाई अग्रगामी बनाउने अभियानमा गलत प्रवृत्तिविरूद्ध विद्रोह गरिने भएकाले एकिकृत समाजवादी पार्टीको भविष्य सुनौलो रहेको उहाँले दाबी गर्नुभयो ।

एमालेका नेताहरूले विद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक र व्यक्तिगत भविष्यको सपना बाँड्दै हिँडेको आरोप लगाउँदै झाँक्रीले भ्रममा नपर्न कार्यकर्तालार्ई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरूले चिन्ह भन्दा पनि विचार रोज्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया