टिमुर खेतीबाट मनग्य आम्दानी

admin

बेनी, १५ कात्तिक : बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गर्नुभएको छ ।

“पचास बोटले अहिले फल दिन्छ, ६०० बिरुवा नयाँ छन्, खेर गएको बाँझो जमीन, पाखोसँगै खेतीयोग्य जमीनमा समेत टिमुर खेती विस्तार गरेको छु’’, उहाँले भन्नुभयो । टिमुरको फलसँगै नर्सरी स्थापना गरी बिरुवासमेत बिक्री गर्दै आएका बानियाँले वार्षिक रु सात लाखभन्दा बढी गाउँमै बसेर आम्दानी गर्दै आउनु भएको छ । प्रशोधन गरी ए, बी र सी वर्गको टिमुरलाई क्रमशः प्रतिकिलो रु दुई हजार ४००, रु दुई हजार २०० र रु एक हजार ८०० का दरले बिक्री गरिँदै आएको छ ।

यहाँका कृषकले नगदे बालीका रुपमा टिमुर रोप्ने अभियान थालेका छन् । बोटमा फलेको टिमुर बजारीकरणका लागि फल टिप्दै गरेका चन्द्र नेपालीले नौ पाथी बिक्री गरिसकेको बताउनुभयो । “व्यापारीले घरमै आएर किनेर लगे, थप विस्तार गर्ने योजनामा छु,” उहाँले भन्नुभयो । टिमुर खेती गरीबी निवारणको गतिलो माध्यम बन्न थालेको छ ।

खेतीयोग्य जमीनको आवश्यक नपर्ने र उपयोगमा ल्याउन नसकिने ढुङ्गैढुङ्गाको ढाडमा समेत टिमुरको बोट हुर्कने गरेको छ । टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि बेनपा–९ तोरीपानी, काफलबोट, डाबा, ढोलढान, ओखरबोट, स्यालीखेत, तुसारेपानी, गिठीनी, नेप्टेचौरलगायत ठाउँमा व्यावसायिक रुपमै टिमुर खेती गर्नेको लहर चलेको छ । तोरिपानीका भरत केसीले यसै वर्षदेखि धानखेती हुने जग्गामा ६०० बोट टिमुर रोप्नु भएको छ । यस्तै इब गिरीले ४०० र पुन्य चोखालले ५०० टिमुरका बोट लगाएका छन् ।

घतानका १५० भन्दा बढी परिवारले व्यावसायिक रुपमा टिमुर खेती गर्दै आएका छन् । सामुदायिक वनमा समेत टिमुर खेती विस्तार गर्ने अभियान थालेको नीलपहरा सामुदायिक वनका अध्यक्ष सागर बानियाँले बताउनुभयो । निलपहरा र तुसारेपानी महिला सामुदायिक वनमा सात÷सात सय टिमुरका बोट रोपिएका छन् ।

टिमुरको माग बढेपछि कृषक उत्साहित छन् । टिमुरको स्थानीय बजारदेखि विदेशबाट माग हुन थालेको छ । टिमुर खरीद गर्न व्यापारी घर–घरमै पुग्न थालेका छन् । विदेशबाट समेत माग आउने क्रम बढेपछि सामुदायिक वन तथा व्यक्तिगत जग्गामा टिमुर खेती गर्ने लहर बढेको बानियाँले बताउनुभयो । “यस वर्ष कोरियामा एक क्विन्टल टिमुर निर्यात ग¥यौँँ, फ्रान्समा दुई क्विन्टल पठाउँदैछौँ, विदेशबाट आठ क्विन्टल टिमुरको माग आएको छ, उत्पादन नभएपछि माग पु¥याउन सकेनौँ”, बानियाँले भन्नुभयो ।

यस वर्ष असिनाका कारण उत्पादनमा कमी आउने किसान बताउँछन् । स्थानीय व्यापारीले बढी मूल्य दिन थालेपछि किसानले स्वदेशमै टिमुर बिक्री गर्न थालेका छन् । यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया, अमेरिका, जापान, जर्मनीलगायत देशमा निर्यात गरिँदै आएको छ । यस वर्ष घतानमा मात्र करीब ४५ क्विन्टल टिमुर उत्पादन भएको थियो । टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइमा टिमुरको खेती उत्तम मानिन्छ ।

केही वर्षअघिसम्म बोटबाट टिपेर फल सुकाएर बिक्री गर्दै आएका यहाँका कृषकले अहिले प्रशोधन गरेर टिमुर बिक्री गर्न थालेका छन् । जिल्ला वन कार्यालयले अनुदानमा रु १० लाख बराबरको ग्रेडिङ, सुकाउने, पिस्ने, तौल लिने र लेबलिङ गर्ने उपकरण उपलब्ध गराएपछि कृषकले गाउँमै प्रशोधन गरेर टिमुर बिक्री गर्न थालेका छन् । किसानले टिमुरको बिरुवा बिक्रीबाट समेत पर्याप्त आम्दानी गर्न थालेका छन् । प्रशंसा बहुउद्देश्यीय फलफूल तथा जडीबुटी नर्सरीका सञ्चालक सागर बानियाँ यस वर्ष ५१ हजार टिमुरको बिरुवा बिक्री गरेको बताउनुहुन्छ । उहाँले आफ्नै नर्सरीबाट १८ हजार बिरुवा बिक्री गर्नुभएको हो । टिमुरको प्रतिबिरुवा रु ५० देखि रु ५५ सम्ममा बिक्री हुने गर्छ । “यस वर्ष ५० हजारभन्दा बढी बिरुवाको माग आएको छ,” उहाँले भन्नुभयो । कमल खत्री, रासस

प्रतिक्रिया