टेकुमा दैनिक ७० जनासम्म एचआइभी संक्रमित औषधि लिन आउने

admin

काठमाडौं, २६ असार : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने गरेका छन् ।

कोभिड-१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ ।

कोभिड-१९ संक्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ । एचआइभी संक्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका संक्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

यो अस्पताल एचआइभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए । उनले भने, “उहाँहरुलाई यहाँ जस्तो सहज नभए पनि अहिलेको अवस्थामा जानैपर्छ ।”

अस्पतालले सेवा अरु अस्पतालमा सारेपछि कतिपयले दुःख मनाउ गर्ने गरेको निर्देशक डा. राजभण्डारीले बताए । एचआइभी संक्रमितले सोचेजस्तो सेवा नपाएको भनी गुनासो गर्ने गरेका छन् ।

उनीहरु एकदेखि दुई महिनामा एक पटक औषधि लिन आउने गरेका हुन् । अस्पतालमै भर्ना हुनुपर्ने गम्भीर बिरामी वीर अस्पताललगायतका अस्पतालमा जाने गरेका छन् ।

अस्पतालले यो सेवासँगै रेविजविरुद्धको खोप यहीँबाट सञ्चालन गर्दै आएको छ । यो सेवा अरु अस्पतालमा सार्न सहज नभएको भनी यहीँबाट सेवा सञ्चालन भइरहेको हो ।

प्रतिक्रिया