टेकु अस्पतालले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्ने

admin

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कोरोना संक्रमितको बिना धरौटी उपचार गर्ने भएको छ। अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले भने, ‘भोलि पत्र आउँछ होला। त्यसपछि धरौटी लिने कुरालाई हटाउनुपर्छ।’

अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि ५० हजारसम्म धरौटी रकम जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो। तर त्यसको सर्वत्र आलोचना भएपछि मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई संक्रमितको उपचार गर्ने निर्देशन दिएको हो।

खतिवडाले संक्रमितको उपचार शुल्क लिने निर्णय भने यथावत रहेको र धरौटी लिने कुरा मात्र फिर्ता गरिने जनाए। मन्त्रालयले भने धरौटी रकम माग्ने अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्नेसँग शुल्क लिने र नसक्ने व्यक्तिको निशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत रहेको जनाए।

सरकारले कोरोना संक्रमितको उपचारका लागि शुल्क लाग्ने भने पनि खर्च बेहोर्न नसक्ने संक्रमितहरूको भने निशुल्क उपचार गर्ने भनेको छ। त्यसका लागि सरकारले विभिन्न आधारहरू तोकेको छ।

सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निशुल्क उपचार गर्ने भनेको छ। त्यसका लागि आधार अनुसार प्रमाण पत्र अस्पतालमा पेस गर्नपर्ने भनिएको छ।

प्रतिक्रिया