ट्याक्सी चालकको आन्दोलन : सडकमा तेर्साए ट्याक्सी, सडकमै खाए खाना (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १७ असार : कोरोना भाइरसको कारण लगातार ३ महिनाभन्दा लामो समय लकडाउन भएपछि पनि ट्याक्सी चलाउन नपाएको भन्दै बुधबार ट्याक्सी चालकहरुले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।

सरकारले ट्याक्सी सञ्चालनमा समेत रोक लगाएपछि आफै ट्याक्सी किनेर चलाएका स्वरोजगार मजदुर र ट्याक्सीका मालिकसमेत मारमा परेका छन् । ट्याक्सी चालक र मालिकहरुले आफ्ना ट्याक्सी विभाग अगाडि राखेर त्यहीँ सडक किनारामा खाना पकाएर खाएका छन् ।

ट्याक्सी सञ्चालनमा आउन नसक्दा खान पनि नपाउने स्थिति आएको र परिवार समेत भोकै बस्नु पर्ने अवस्था आएको भन्दै वैकल्पिक व्यवस्थ गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् । ट्याक्सी मालिक तथा मजदुरहरुले आफूहरुले २४ अर्ब कर तिरेको भन्दै ३ महिनाको किस्ता तिरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।

ट्याक्सी चालक तथा स्वरोजगार ट्याक्सी मालिकको प्ले कार्डमा लेखिएको छ, ‘२४ अर्ब ८२ करोड १० लाख ७९ हजार १ सय रुपैयाँ हामीले तिरेको कर । १ अर्ब ४५ करोड २० लाख तीन महिनाको किस्ता १ सरकार तिर्ने काम गर ।’

लकडाउनको कारण बाँच्नै सक्ने अवस्था नरहेको र घरमा पकाएर खानेकुरासमेत नभएकोतर्फ संकेत गर्दै ट्याक्सी चालकहरुले बुधबार सडक किनारामै खाना र सोयाबिनको पिना (मस्यौरा)मा झोल हालेर खाएका छन् ।

यो भिडियो पनि हेर्नुस् !

प्रतिक्रिया