ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

राष्ट्रिय समाचार समिति

सर्लाही, १९ साउन : कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।


ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी दासलाई तत्कालै सर्लाही अस्पताल मलङ्गवामा पु¥याइएको थियो । तर उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टरको नम्बर खुलेको छैन । ठक्कर दिने ट्र्याक्टरको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतकको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

यसैबीच सर्लाहीको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुरस्थित नेपाल– भारत सीमा नजिकै रहेको पोखरीमा डुबेर एक भारतीय युवक बेपत्ता भएका छन् । शनिबार साँझ तीन साथीसँग पोखरीमा नुहाउन गएका भारत बिहार सीतामढी जिल्ला बथुवारा लालबन्दी–२ निवासी हबिव अन्सारीका १६ वर्षीय छोरा अजुव अन्सारी पोखरीमा डुबेर बेपत्ता भएका हुन् । हिजो साँझ ५ बजेदेखि नै पोखरीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पोखरीमा बढी पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य अहिले पनि जारी नै रहेको छ ।

प्रतिक्रिया