ट्विटरद्वारा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

admin

एजेन्सी, २० फागुन : सामाजिक सञ्जालमध्येको एक प्रमुख ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्यरुपमा घरबाटै काम गर्न निर्देश गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलनबाट रोक्न ट्विटरले यस्तो उपाय अपनाएको बुझिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रम रोकिएसँगै सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो ।

कम्पनीले विश्वभरि रहेका आफ्ना पाँच हजार कर्मचारीलाई काममा नआउन ‘कडा रुपमा प्रोत्साहित’ गरेको छ ।

ट्विटरले आफ्ना सबै कर्मचारीहरुलाई अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएपछि यस्तो बताएको हो ।

कम्पनीले टेक्सासको अस्टिनमा भएको दक्षिण-पश्चिम मिडिया सम्मेलनमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विशेष रणनीति अपनाउने बताएको थियो ।

ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले भने, ‘हाम्रो लक्ष्य भनेको कोभिड-१९ कोरोना भाइरसको सङ्क्रमण फैलन कम गर्नु हो ।’

‘यो हाम्रो लागि निकै ठूलो परिवर्तन हो, हामी कोरोनाको सङ्क्रमण कम गर्न कर्मचारीलाई यत्रतत्र छरिन भनेका छौँ । हामी विश्वव्यापी सेवा प्रदायक कम्पनी हौँ र यो ट्विटरमा काम गर्ने सबैमा लागू हुन्छ ।’

ब्लग पोस्टमा ट्विटरले केही समयका लागि घरबाटै काम गर्न मिल्ने अवस्था सिर्जना गर्न लागेको बताएको छ ।

प्रतिक्रिया