ठमेलको देख्ने हातहरु, दृष्टीविहिनमार्फत मसाज सेवा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। राजधानीको ‘हट’ एरिया ठमेलमा चिरञ्जीवी पौडेल र उनको टिमले ८ वर्ष देखि मसाज सेन्टर संचालन गर्दै आएका छन्। सिइङ ह्यान्डस क्लिनिक नामक उनको मसाज सेन्टरमा मेनेजर र सरसफाइ गर्ने कर्मचारीबाहेक सबै थेरापिस्ट दृष्टिविहीन छन्।

चिरञ्जीवी जन्मजातै दृष्टीविहिन हुन् । तरपनि उनले आफ्नो जीवनलाई कहिल्यै अन्धकार हुन दिएनन् । कपिलवस्तुमा जन्मेका चिरञ्जीवीले पहिलोपटक सन् २००५ पोखरामा सञ्चालन भएको मसाज क्लिनिक ‘सिइङ ह्याण्डस्’मा पहिलो विद्यार्थीका साथै पहिलो थेरापिस्टको रुपमा कार्य गर्न थाले । त्यही उनको भेट अर्की दृष्टीविहिन लक्ष्मी अधिकारीसँग भयो । उनीहरु एउटै कलेजमा पढ्नुका साथै सँगै काम पनि गर्थे ।

उनीहरुको भेट प्रेममा परिणत भयो र २०६७ मा उनीहरुको विवाह भयो । पोखराकै सिइङ ह्याण्ड मसाज क्लिनिकमा काम गरिरहेका पौडेलले काठमाडौंमा आफू स्वयंले मसाज क्लिनिक खोल्ने विचार गरे । उनलाई लाग्यो, सोही मसाज क्लिनिक राजधानीमा खोल्न पाए धेरै पर्यटकहरुले यसको सुविधा लिनुका साथै धेरै दृष्टीविहिनहरुले रोजगारी पाउन सक्थे । काठमाडौंमै अन्तर्राष्ट्रिय विमानस्थल भएको कारणले पनि यहाँ पर्यटकहरु धेरै आउने सम्भावना थियो । मसाजमा विशेष गरेर पर्यटकहरुको रुचि हुने भएकोले उनले राजधानीमै मसाज क्लिनिक खोल्ने योजना बनाए ।

आफू दृष्टीविहिन भएपनि सधैं अरुको सहायतामा बस्न उनले रुचाएन् । आफ्नो अलग पहिचानको लागि उनले आफैंले सन् २०१० मा ठमेलमा सिइङ ह्याण्ड क्लिनिक सञ्चालन गरे । हालसम्म उनको मसाज क्लिनिक पाटन, बौद्ध र ठमेल गरी तीन ठाउँमा सञ्चालन भइरहेका छन् ।

ठमेल क्लिनिकमा ८ जना स्टाफ छन् । त्यहाँ कार्यरत सबै दृष्टीविहिन छन् । दृष्टीविहिनलाई पनि रोजगारीको अवसर प्रदान गर्न उनले दृष्टीविहिनमात्रै राख्ने गरेका छन् । सिइङ ह्याण्डमा मेनेजर र सरसफाइ गर्ने कर्मचारीबाहेक सबै दृष्टीविहिन छन् । मसाजको सेवा लिन आउनेहरु सामान्य मानिसहरुबाट मसाजको सेवा लिनभन्दा दृष्टीविहिनबाट मसाज सेवा लिन रुचाउने पौडेल बताउँछन् ।

सिइङ ह्याण्डस् ब्रिटिस जोडी रब यान्ली र सुजन यान्लीले स्थापना गरेको संस्था हो । रब यान्ली आफैं यूकेमा मसाज थेरापिष्ट र फिजियोथेरापिष्ट थिए । सन् १९९३ देखि यान्ली जोडी नेपाल आउने जाने क्रम चलिरह्यो । रबलाई नेपालमा व्यावसायिक रुपले मसाज सेन्टर खोल्न पाए हुन्थ्यो भन्ने थियो । सन् २००३ मा सोही जोडी क्याम्बोडिया पुगे । क्याम्बोडिया गएर उनीहरुले दृष्टीविहिनहरुबाट क्याम्बोडियाकै सिइङ ह्याण्डस्सँग मसाज लिए ।

त्यतिखेर यान्ली जोडीले यो सोचे कि आँखा देख्ने व्यक्तिको भन्दा दृष्टीविहिनहरुको स्पर्शको अनुभूति धेरै राम्रो हुने रहेछ । त्यसपछि यान्ली जोडीले थुप्रै संस्थाहरुलाई सिइङ ह्याण्ड मसाज सुरु गर्न निर्देशन दिए । उनीहरुले सबै आफन्तहरुबाट टोकन मनीको सहायताले पहिलोपटक सन् २००५ मा पोखरामा सिइङ ह्याण्डको स्थापना गरे ।

पौडेल भन्छन्, “विश्वको विभिन्न सहरमा सिइङ ह्याण्ड मसाज क्लिनिक खोलिएको भएपनि नेपालको सिइङ ह्याण्डको शाखा हैन ।”

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू