डब्ल्यूएचओद्वारा कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधि प्रयोगमा रोक

अस्मिता बेल्बासे

एजेन्सी, २१ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमित व्यक्तिमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिरररिटोनाभिर औषधिको प्रयोग बन्द गर्न लागिएको जनाएको छ ।

मलेरियाको उपचारमा प्रयोग आउने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमितलाई दिइने लोपिनएभिर-रिटोनाभिर औषधिबाट कोरोना संक्रमितको मृत्युदर नरोकिएको कारण यस्तो निर्णय लिएको डब्ल्यूएचओले बताएको शनिबार बीबीसीले जनाएको छ ।

कोरोना संक्रमितको उपचारको लागि विभिन्न खोप र औषधि परीक्षणमा यो औषधिलाई एक आशाको रुपमा हेरिएको थियो तर त्यो सफल हुन सकेन । 

कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड-१९ संक्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड-१९ संक्रमित बिरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड-१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष डब्ल्यूएचओको रहेको छ ।

डब्ल्यूएचओले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘मेडिकल परीक्षणबाट हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिरररिटोनाभिरको प्रयोगले कोरोना संक्रतमितको मृत्युदरमा कमी आएन । यसर्थ यी औषधिको परीक्षण तत्काल बन्द गरिन लागिएको छ ।’

विश्वका विभिन्न देशमा डब्ल्यूएचओको अगुवाइमा यी औषधिले कोरोना संक्रमितमा परेको असरबारे जाँभ भइरहेको थियो । एक अन्तर्राष्ट्रिय कमिटीको सिफारिसमा डब्ल्यूएचओले यस्तो निर्णय लिएको सङ्गठनको स्वास्थ्य एजेन्सीले बताएको छ ।

यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना नभएका बिरामी र रोगनिरोधकको रुपमा उनीहरुमाथि यसको प्रयोगसँग जोडिएको अध्ययनमा यो निर्णयको असर नपर्ने जनाएको छ ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” डब्ल्यूएचओको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ ।

डब्ल्यूएचओको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ ।

यसैबीच डब्ल्यूएचओले विश्वभरमा शनिबार पहिलो पटक एकैदिनमा दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । शुक्रबार विश्वभर दुई लाख १२ हजार तीन सय २६ जनामा संक्रमण पुष्टि भएकोमा अमेरिकामा मात्रै ५३ हजार दुई सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया