डा. भट्टराईद्वारा संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव

admin

काठमाडौं, ६ माघ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानीलाई काठमाडौंबाट बाहिर सार्नुपर्ने माग गरेका छन् । डा. भट्टराईले मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सारेका हुन् ।

ट्वीट गर्दै डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौं उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन् । उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू-उपयोग नीति लागू गर्न समेत माग गरेका छन् ।

काठमाडौं महानगरपालिका-१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भए पनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाएको थियो । पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

यसै सिलसिलामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गरेका हुन् । उनले सरकारसँग राष्ट्रिय भू-उपयोग नीति लागू गर्न र संघीय राजधानी काठमाडौं बाहिर सार्न माग गरेका हुन् । उनले कमलपोखरी संरक्षण अभियानप्रति ऐक्यवद्धता पनि प्रकट गरेका छन् ।

‘विकास र संरक्षण वीचको अन्तर सम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भू-उपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !’ उनले लेखेका छन् ।

प्रतिक्रिया