डा. समिर कुमार अधिकारी : के हो निपा भाइरस, यसबाट कसरी बच्न सकिन्छ ?

admin

काठमाडौं, २९ भदौ : पछिल्लो समय निपा भाइरसका संक्रमित भेटिएका छन् । भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका संक्रमितहरु भेट्टिएका हुन् । भारतको केरलामा उक्त भाइरसबाट १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले यसबाट बच्न यी विभिन्न सल्लाह सुझाव दिएका छन् ।

उनले भनेका छन्, निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक संक्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको संक्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । संक्रमित व्यक्तिको दिसा, पिसाब र रगतबाट पनि यो रोग सर्ने जोखिम रहन्छ ।

छिमेकी भारतमा देखिएका धेरैजसो रोगहरु नेपालमा पनि देखिने गरेका इतिहासहरु प्रशस्तै छन् । मानिसबाट मानिसमा, जनावरबाट मानिस वा जनावरबाट जनावरमा देखिने धेरैजसो रोगहरु भारतमा फैलिएसँगै नेपालमा पनि फैलने गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा भारतमा जोखिम बढ्ने बित्तिक्कै नेपालमा पनि जोखिम बढेको थियो । विगतमा भारतमा देखिएका अरु महामारीहरु पनि भोग्यौँ । यसका कारण दक्षिण भारतमा देखिएको निपा भाइरस संक्रमणको जोखिम नेपालमा पनि देखिएको हो ।

सर्ने तरिका
भारतमा बिस्तारै फैलँदै गरेको निपा भाइरस नेपालमा आइपुग्न सक्ने भएकाले उच्च सावधानी अपनाउन आवश्यक छ । नेपाल भारत खुला सीमा भएकाले भारतबाट यो रोगको सङ्क्रमण नेपाल भित्रने जोखिम छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेर नेपालमा आउँदा सँगै रोग ल्याउने वा एकअर्काको सम्पर्कमा आउँदा सर्ने सम्भावना उच्च हुन्छ ।

एक व्यक्तिको शरीरबाट निस्कने, दिसा, पिसाब, रगत लगायतको प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने हुन्छ । त्यसको अलावा प्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ । कोरोना भाइरस जसरी सर्छ, त्यो माध्यम निपा भाइरस सर्नका लागि पनि सहज हुन सक्छ ।

लक्षणहरु
​निपा भाइरसको संक्रमण भइसकेपछि अरु खालका भाइरसका कारण देखिने जस्तै समस्याहरु देखिने गर्छन् । टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, लगायतका समस्याहरु हुन्छन् । निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले ज्यान पनि जान सक्छ । भाइरसको सम्पर्कमा आएको २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् ।

४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । अहिले देखिएका रोगहरु जस्तै स् कोरोना, डेङ्गी, स्क्रब टाइफस लगायतका रोगका लक्षणसँग निपा भाइरसका लक्षणहरु पनि मिल्छन् । तर केही लक्षणहरु भने अलि फरक देखिन्छ । त्यो आफैँले अनुमान गर्नुभन्दा अस्पतालमा डाक्टरहरुले लक्षण र परीक्षणका आधारमा पत्ता लगाउँछन् ।

पुरानै भाइरस
निपा अहिले पत्ता लागेको नयाँ भाइरस होइन । विगतमा यो भाइरसका कारण मानिसहरु संक्रमित भएका थिए । ठूलै महामारीको रुपमा धेरै संक्रमण भने फैलिएको थिएन । निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको भनिन्छ । यसको अहिलेसम्म खोप बनेको छैन । यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ । नेपालमा अहिलेसम्म यो भाइरसका सम्भावित लक्षणहरु देखिएको छैन । तर सम्भावित व्यक्तिहरु नै छैनन् भन्न खोजिएको होइन । यसबारे सर्वसाधारण सबैलाई सुसूचित गर्न आवश्यक छ । त्यो काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको छ । यसप्रति निगरानी बढाउने कामको पनि सुरुवात भएको छ ।

अपनाउनुपर्ने सावधानी
संक्रमणको लक्षण देखिएर परीक्षण गर्नुभन्दा संक्रमण हुनै नदिनका लागि सचेत हुनुपर्छ । त्यही अनुसारको व्यवहारहरु गर्नुपर्छ । जङ्गली जनावरहरुले जुठो बनाएका फलफूल तथा तरकारी नखाने, पकाएर खानुपर्ने तरकारीहरु राम्ररी पखालेर, पकाएर मात्र खाने गर्नुपर्छ । त्यसो गर्न सके संक्रमण हुन सक्ने सम्भावनाबाट बच्न सकिन्छ ।

संक्रमण सार्न सक्ने सम्भावित जनावरको सम्पर्कमा नआउने, जनावरले जुठो बनाएका खानेकुराहरु प्रयोग गर्नु हुँदैन । कुनै पनि रोगको संक्रमण नै हुन नदिनु बुद्धिमानी हो । भाइरस संक्रमण हुने र त्यसले निम्त्याउन सक्ने जटिलतातर्फ ध्यान केन्द्रीत गर्नुभन्दा संक्रमण हुनै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउनुका साथै अन्य तयारीहरु पनि गरिरहेको छ । सरकारले गर्ने रोकथामसँगै संक्रमण फैलन नदिनका लागि सर्वसाधारण पनि उत्तिकै सजग हुन आवश्यक छ । फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारीहरु पनि पखालेर पूर्ण रुपमा पकाएर खाने गर्नुपर्छ ।

गाईबस्तुको फार्महरु राम्ररी सफा गर्ने, मासु काट्दा वा पकाउँदा पञ्जा, मास्कको प्रयोग गर्ने, बेलाबेला साबुन पानीले हात धुने, कोरोनाबाट बच्नका लागि जस्तै भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने लगायतका सतर्कता अपनाउनुपर्छ ।

प्रतिक्रिया