डेङ्गु नियन्त्रणका लागि संयन्त्र बनाउन माग

राष्ट्रिय समाचार समिति

हेटौँडा, २३ भदौ: प्रदेश नं– ३ को प्रदेशसभाको आज अपरान्ह बसेको बैठकमा सार्वजनिक सरोकारसँग सम्बन्धित डेङ्गु रोगको प्रभावलाई नियन्त्रण गर्नुपर्ने विषयमा राखिएको प्रस्तावमाथि सदस्यहरुले प्रदेश सरकारले चिकित्सकसहितको संयन्त्रको टोली छिट्टै परिचालन गर्न माग गर्नुभएको छ ।

उहाँहरुले अहिले विपन्न परिवारको बाहुल्य रहेका बस्तीमा लामखुट्टेको प्रकोप तीव्ररुपमा बढेकाले चिकित्सकको टोलीलाई ती बस्तीमा पठाइ प्यूपा र लार्भा नष्ट गर्न जनचेतना जाग्रित पार्नेतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्ने सुझाव दिनुभयो ।

सदस्यले सरकारी अस्पतालमा डेङ्गु रोगीको उपचारका लागि चाप बढ्दै गएकाले उपचारका लागि आवश्यक चिकित्सक तथा जनशक्ति उपलब्ध गराउनुका साथै किट पनि निःशुल्क उपलब्ध गराउन माग गर्नुहुँदै प्रदेश सरकारले सम्बन्धित निकासँग समन्वय गर्नुपर्नेमा दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले राख्नुभएको सार्वजनिक सरोकारको प्रस्तावमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक राधा घले र सत्तारुढ दलकै सदस्य कञ्चन खनालले समर्थन गर्नुभएको थियो । सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेशका १३ जिल्लामा डेङ्गु नियन्त्रण अभियान चरणबद्ध रुपमा कार्यान्वयनका लागि प्रयास भइसकेको उल्लेख गर्दै प्रदेशमा अहिले डेङ्गु रोगबाट जम्मा दुई हजार १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभयो ।

प्रदेशसभाका सदस्य गीता वाग्ले, विराजभक्त श्रेष्ठ, वसन्त मानन्धर, राजेन्द्रप्रसाद पाण्डे, भीमसेन खत्री, शोभा शाक्य, विनोद खड्का, बलराम पौडेल, विजया श्रेष्ठ केसी, सुरेन्द्रराज गोरसाई, कृष्णप्रसाद खनाल, ईन्द्रमाया गुरुङ, प्रेमबहादुर पुलामी, रिना गुरुङ, नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, सरसस्वती बस्नेत, राजेन्द्र श्रेष्ठ र रीता माझीले आफ्ना धारणा राख्नुभएको थियो ।

आजैको बैठकको विशेष समयमा बोल्नुहुँदै नेपाली काङ्ग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश नं–३ को स्थायी राजधानीको टुङ्गो र राजधानीको नामाकरणसमेतको सहमति गरी सभामा प्रक्रियामा ल्याउन प्रदेश सरकारले आलटाल गरेको आरोप लगाएर मकवानपुरको पूर्वी भेगमा चट्याङबाट धनजनको क्षति भएकोमा सरकारले पीडितपरिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभयो ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशको लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयकको दफावार छलफलसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही भदौ २४ गते बिहान ११ः०० बजे बस्ने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया