डोलेश्वरमा आज देखि श्रावणी मेला शुरु

शर्मिला गुरुङ

भक्तपुर, १ साउन : केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बुधबारबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा आज बुधबारदेखि सुरु भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए ।

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।

तस्विर : मोहन सिपाडोल

मेलामा श्रावण २ गतेदेखि ५ गतेसम्म श्रीकृष्ण कथामृत, श्रावण ६ गतेदेखि १२ गतेसम्म रामायण कथा, श्रावण १३ गतेदेखि १९ गतेसम्म श्रीमद् भागवत, श्रावण २० गतेदेखि ३० गतेसम्म शिव महापुराण, श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म नेपाल महात्म्य र भाद्र ६ गते श्रावणी मेलाको समापन हुने समितिले जनाएको छ ।

कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे ।

तस्विर : मोहन सिपाडोल

उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सांसद शशिजंग थापा, सुर्यविनायक नगरपालिकाका नगर–प्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका उपसंयोजक सरिता कुँवर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सभापति पुस्करराज बुढाथोकी, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापालगायतको सहभागिता रहेको थियो ।

साउन १ गतेदेखि शुरु भएको उक्त श्रावणी मेलामा २ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया