तथ्य र तथ्याङ्क विकासका लागि आधार’

राष्ट्रिय समाचार समिति

पोखरा, ६ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न सङ्घसंस्थाले गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र तथ्याङ्क विकासका लागि महत्वपूर्ण आधार बन्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एसिया फाउण्डेशनद्वारा सर्भेक्षण गरिएको तथ्याङ्क आज सार्वजनिक गर्दै उहाँले प्राप्त तथ्याङ्ककै आधारमा विकासका योजना तय हुने बताउनुभयो ।

अध्ययन अनुसन्धानका क्रममा जो कोही संस्थाले वस्तुनिष्ठ ढङ्गबाट सही तथ्य निकाल्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्ता तथ्याङ्कले भावी कार्ययोजना तय गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयसहित तीन संस्थाले तयार गरेको तथ्याङ्कसहितको प्रतिवेदन सरकारका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राप्त तथ्याङ्कअनुसार गण्डकी प्रदेश विकास निर्माणमा अघिनै देखिएको बताउँदै मुख्यमन्त्री गुरुङले कमजोरी देखिएका क्षेत्रलाई क्रमशः सुधार गर्दै अघि बढिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गलत तथ्याङ्कले योजना निर्माण एवम् त्यसको कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने भएकाले सही तथ्याङ्क निकाल्नेमा अनुसन्धानकर्ता लाग्नुपर्ने बताउनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्थानीय तहले विकास निर्माणका साथै सबै क्षेत्रको पारिवारिक तथ्याङ्क सङ्कलन गरिनुपर्ने आँैल्याउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका डा धिरज गिरीले ७३ जिल्लाका १८ वर्षमाथि उमेरका सात हजार ५६ व्यक्तिलाई छनोट गरी तथ्याङ्कक सर्भेक्षण एवम् विश्लेषण गरी निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

विभन्न वर्ग र समुदायका व्यक्तिहरुसँग गरिएको प्रश्नउत्तरमा ५१.५ प्रतिशत उत्तरदाताले देश सही दिशामा अघि बढेको बताएको उहाँले जानकारी दिनुभयो । उहाँले ३९.४ उत्तरदाताले देश क्रमिकरुपमा गलत दिशातर्पm अघि बढेको र ९.१ प्रतिशतले यसबारे आफूहरु अनभिज्ञ भएको बताएको बताउनुभयो । अध्ययनअनुसार राजनीतिक दल, प्रदेश र सङ्घीय संसद्का सदस्यमा जनताको विश्वास ३० देखि ४० प्रतिशत मात्र देखिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका डिन डा सागरराज शर्माले तथ्याङ्कको सत्यतथ्यताका लागि भरपुर प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले सात वटै प्रदेशमा यस किसिमका कार्यक्रम गरी तथ्याङ्क सार्वजनिक गरिने र प्राप्त सुझावका आधारमा थप गहिराइमा पुग्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र प्राज्ञिक क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।रासस

प्रतिक्रिया