‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’

राष्ट्रिय समाचार समिति

बलेवा, १५ चैत:  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् ।

हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन् । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदूर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै भोजनको व्यवस्थासंँगै खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएका छन् ।

‘लकडाउनमा काम गर्न नपाएर कोही भोकै मर्नु पर्दैन’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भन्नुभयो ‘ढुक्क हुनुहोस्, भोक र दुःखमा साथ दिने तपाईंको सरकार छ ।’ ‘महामारीको रोकथामका लागि भरहेको प्रयासमा हातेमालो गर्ने जुनसुकै नागरिकलाई पर्ने असजिलोमा सारथी बन्नु स्थानीय सरकारको दायित्व हो’ पौडेलले भन्नुभयो ।

जैमिनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र अति विपन्न परिवारलाई बिहानबेलुकीको छाक नटरे वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । वडा अध्यक्षले उनीहरुको अवस्था पहिचान गरी नगरपालिकाका तर्फबाट दैनिक खर्च चलाउन नगद तथा खाद्यान्न उपलब्ध गराउने नगरप्रमुख पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिकाले बेसहारा नागरिकलाई दिवा खानाको व्यवस्था गर्ने भएको छ । लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

तिरुपती बालाजीधाम शालिग्राम संग्रहालयको व्यवस्थापनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीब र अति विपन्नलाई दिवा खाना खुवाइने छ ।

नगरपालिकाले घनाबस्ती भएको बजारमा कीटाणु मार्ने औषधि पनि छर्किन शुरु गरिसकेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । लकडाउन लम्बिँदै गर्दा अलपत्र १४ मजदूरलाई उद्योग वाणिज्य संघ बागलुङले निःशुल्क खाना खाने व्यवस्था गर्ने भएको छ ।

सङ्घले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताउनुभयो । बागुलङ नगर खानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदूर जाजरकोटका हुन् ।

उनीहरुले घरजाने वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासंँग आग्रह गरेका छन् । जयमाता कन्काइ जेभी निर्माण कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाइने बताउनुभयो ।

लकडाउनका समयमा खाद्यान्न उपलब्ध गराउने घोषणा गरेको काठेखोला गाउँपालिकाले वडा तहबाट लगत सङ्कलनको काम सकेको छ । गाउँपालिकाका आठवटै वडामा रहेका विपन्न र मजदूरको लगत संकलन भइसकेकाले राहत वितरणको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताउनुभयो ।

गाउँपालिकाले अति विपन्न र छाक टार्नै मुश्किल भएका २० भन्दा बढी नहुने गरी प्रत्येक वडामा एक बोरा चामल र तीन किलोग्राम दाल दिने विधि बनाएको छ । जनसङ्ख्या धेरै भएका वडामा भने तीस जनासम्मले सामग्री पाउने छन् । वडा नं २ भीमापोखराका १३ परिवारलाई सामग्री वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

प्रतिक्रिया