तमु धिंद्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

राष्ट्रिय समाचार समिति

चिप्लेढुङ्गा, १८ जेठ : पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य र डीन डा नरेन्द्रविक्रम गुरुङलाई रु एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्दै संस्थाले विपत्तिका समयमा सधैंँ नेपालमा सहयोग गर्दै आइरहेको र भूकम्पका बेला विभिन्न विद्यालयलाई रु १८ लाख सहयोग गरेको जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक डा आचार्यले कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेका अवस्थामा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको सामग्री निकै उपयोगी हुने बताउँदै संस्थालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया