तातोपानी नाका चार वर्षपछि खुल्यो

शर्मिला गुरुङ

काठमाडौँ, १५ जेठ : विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द रहेको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ ।
भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको लिपिङमा निर्मित मितेरी पुलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चीन सरकारको तर्फबाट वाणिज्य उप–मन्त्री झाङ जि वइन र चिनियाँ राजदूत होउ याङ छिले संयुक्त रुपमा रिबन काट्दै उक्त नाकाको उद्घाटन गर्नुभएको हो ।

ल्हासाबाट चार कन्टेनर ऊन ल्याउँदै नाका सञ्चालनमा आएको हो । नाका शुभारम्भपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले ‘एक चीन नीति’मा नेपाल अडिग रहेको बताउनुभयो । भरखरै सञ्चालनमा आएको नाकाबाट नियमित रुपमा व्यापार व्यवसाय सञ्चालन हुनेमा आशावादी भएको मन्त्री यादवले बताउनुभयो ।

भूकम्पपछि पुनःनिर्माणमा चीनले नेपाललाई धेरै सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा चिनियाँ उपमन्त्री झाङले नेपालसँग साझेदारी गरेर जान चीन तयार रहेको बताउनुभयो । उहाँले सुरक्षा संवेदनशीलताको हिसाबले तातोपानी नाकालाई स्मार्ट बनाउन आवश्यक रहेको र सहज रुपमा व्यापार व्यवसाय हुनेमा आशावादी रहेको उहाँको भनाइ थियो ।

नाका सञ्चालनमा आए पनि मानिसको आवतजावत भने खुला गरिएको छैन । कार्यक्रममा सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललगायतको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया