तामाकोशीमा लगानीकर्ताको आर्कषण

admin

काठमाडौँ, १६ कात्तिक : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी स्वामित्वको कम्पनीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहन्छ भन्ने सन्देश गएको छ”, प्रवक्ता डा न्यौपानेले भन्नुभयो ।

कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको आवेदन पर्ने अनुमान छ । कम्पनीले गत बुधबार मात्रै दोलखावासीका लागि बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
-रासस

प्रतिक्रिया