तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

admin

काबुल, २७ असोज : तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ ।

उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

यसअघि उनीहरुले सो भेटवार्ता भएको भन्ने बारेमा अस्वीकार गरेको भए पनि शनिबार भने उनीहरुले अमेरिकी दूतसँग कतारमा भेटावार्ता गरेको भनी आफ्नो आधिकारिक वेबसाइटमार्फत पुष्टि गरेका समाचारमा जनाइएको छ ।

तालिबान सङ्गठनका तर्फबाट खलिलजाद र अमेरिकी एकजना अधिकारीबीच कतारमा शुक्रबार भेटवार्ता भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । प्रवक्ता मुजाहिदले पत्रकारका लागि भन्दै जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।

साथै यही भेटघाट पछि नै यसअघि पनि तालिबानका प्रतिनिधिले गएको जुलाई महिनामा अमेरिकी दूतसँग बारम्बार भेटवार्ता गरेको खुलेको छ ।

गएको जुन महिनामा तालिबानहरुले अफगानिस्तानको सरकारसमक्ष युद्धविराम गरेका थिए । उनीहरुको युद्धविरामपछि अमेरिकी सरकारले पनि युद्धविरामको घोषणा गरेको थियो ।
सो घोषणापछि अमेरिकी प्रस्तावमा शान्तिवार्ताका लागि तालिबानका प्रतिनिधिले अमेरिकी दूतसँग भेटवार्ता गरेका बताइएको थियो ।

तर सो समयमा अमेरिकी दूतले अफगान सरकार र तालिबानबीच वार्ता गराउनका लागि गरेको भनिएको पहल सार्थक हुन सकेको थिएन ।

अमेरिकाले गरेको सो वार्ताको प्रस्ताव र प्रयासकै बीचमा यता अफगानिस्तानमा तालिबान र अर्काे आतङ्ककारी समूह इस्लामिक स्टेटले भीषण हमलाहरु शुरु गरेका थिए ।

सो हमलापछि भने वार्ताको पहल रोकिएको थियो । त्यसपछि अफगान राष्ट्रपतिले पनि वार्ताका लागि तालिबानहरुसँग बारम्बार आह्वान गर्नुभएको थियो
शुक्रबार भएको सो वार्ताको बारेमा अमेरिकाले भने केही प्रतिक्रिया दिन चाहेन । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ । रासस÷एएफपी

प्रतिक्रिया