तिवारीका हत्यारा पक्राउ

राष्ट्रिय समाचार समिति

बुटवल, १७ साउन: रुपन्देहीका तत्कालीन युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीलगायतको हत्यामा संलग्न ओमप्रकाश दंगोरिया थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी मुठभेडका क्रममा मारिएका मनोज पुनका सहयोगीको रुपमा विभिन्न आपराधिक घटनामा संलग्न थारुले जिल्लाका उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने र आतङ्कित बनाउँदै आएका थिए । पुनसहित उनका सहयोगी सोम आले प्रहरीसँगको मुठभेडमा २०७४ फागुन ९ गते मारिएका थिए । थारुले २०७४ माघ ९ गते रुपन्देहीको देवदहका तिवारीका साथी वसन्त पौडेलको हत्या गरेका थिए । त्यसपछि उनले व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने काम गर्दै आएका थिए ।

पुनको हत्यापश्चात् भारतीय सीमा बजारमा बसेर रकम असुली गर्दै आएका थारुलाई प्रहरीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनले गत वर्ष चैत १२ गते तिलोत्तमा नगरपालिका–३ केरुवानीका रमेश चौधरीसँग आफूसँग रहेको १७ तोला सुन राखेर रु १२ लाख रकम मागेका थिए । रमेशले रु १० लाख आठ हजार पाँच सय मात्र रहेको र उक्त सुन ल्याएर पैसा लैजान भनेपछि रुपन्देही सम्मरीमाई गाउँपालिका–३ थुमुहवास्थित आफन्तको घरमा थारुले पैसासहित बोलाएका थिए ।

सुन किन्न पैसासहित रमेश उनका साथीलाई लिएर चैत १७ गते उक्त ठाउँमा पुग्दा चार÷पाँच मोटरसाइकलमा ओमप्रकाशसहित राजेश गुप्तालगायतका सात÷आठ जनाले घेरा हालेर धाकधम्की, हातहतियार देखाइ जबरर्जस्ती रकम र मोटरसाइकलको कागजात, मोबाइलसमेत लुटेर सीमावर्ती भारततर्फ भागेको भन्ने पीडितको उजूरीका आधारमा प्रहरीले उनीहरुको खोजबिन तीव्र पारेको भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेका थारुले २०६५ असार ९ गते शरदमान श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाइ रकम असुलीको प्रयास गरेको उहाँले बताउनुभयो । थारुलाई हाल डाका मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया