तीजको भड्किलो रोक्न सरकारको पहल

राष्ट्रिय समाचार समिति

चिप्लेढुङगा, ८ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने बताउनुभएको छ । नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा उहाँसँगको भेटमा उहाँले भन्नुभयो, “पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ?, पुरुषले चुरोट खाए हामीले खान के भो ? भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन ।” उहाँले तीजको नाममा हुने विकृति रोक्न प्रदेशसभामा नै जानकारी गराएर प्रहरी प्रशासनमार्फत पहल गरिने बताउनुभयो ।



“हामीले प्रदेशसभामा जानकारी गराउँछौ भड्किलो भोज भतेरमा किन जानु प¥यो ?, तीज विशेष महत्वका कार्यक्रमलाई प्रवचन तथा गोष्ठी बनाउन सकिन्छ ।” तीजको महत्व र गरिमा हुने कार्यक्रमलाई आफूले महत्व दिने उहाँको भनाइ थियो । स्वस्थ्य र सामाजिक न्याय स्थापित समाजले सबैको भलो गर्ने भएकाले कुनै पनि पर्व विशेषको बहानामा गलत संस्कारलाई स्थापित गर्न नहुने उहाँले औल्याउनुभयो ।

तीजको नाममा महीना दिन अघिदेखि हुने भड्किलो गतिविधिलाई निरुत्साहित गरेर तीजको ऐतिहासिक महत्व र सांस्कृतिक सद्भाव कायम गर्न नारी जागरण अभियानले विशेष कार्यक्रम तयारी गरिरहेको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नारी जागरण अभियानका सदस्य एवं नागरिक समाजका व्यक्तिको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया