तीजमार्फत सकारात्मक सन्देश प्रवाह गरौँ : सभामुख घर्ती

राष्ट्रिय समाचार समिति

धादिङ, १० भदौ : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सकारात्मक सन्देश प्रवाह गर्दै तीज मनाउनुपर्ने बताउनुभएको छ । तीजका अवसरमा प्रदेशसभा सचिवालयद्वारा आज बुटवलमा आयोजित तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले तीज मनाउने नाममा अनावश्यक तडकभडक तथा गहना र कपडाको प्रदर्शन नगर्न सुझाव दिनुभयो ।

उपसभामुख कृष्णी थारूले तीजका नाममा चलिआएका गलत संस्कार र परम्परालाई सुधार गर्दै जानुपर्ने बताउनुभयो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नियम कानूनमा महिला अधिकारले प्राथमिकता पाए पनि गलत परम्पराका कारण महिलाहरु पछाडि परेको धारणा राख्नुभयो ।भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशमा के कस्ता कानून निर्माण हँुदैछन् भन्ने हेक्का राख्न जरुरी रहेको बताउँदै महिलाका पक्षमा कानून निर्माणका लागि एकमत हुन प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्मा, कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, नेपाली काँग्रेस सचेतक निर्मला क्षेत्री, राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य कल्पना पाण्डे, राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी, नेपाली काँग्रेस प्रदेशसभा सदस्य रमा अर्याल, प्रदेशसभा सचिवालयका कानून अधिकृत सीता घिमिरे लगायतले तीज पर्वको आफ्नै मौलिकता र विशेषता रहेकाले यसलाई महिलाका पक्षमा आवाज उठाउने पर्वका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया