तीज पर्व सन्देशमूलक बनाउँ : पर्यटनमन्त्री गिरी

राष्ट्रिय समाचार समिति

रुपन्देही, ७ भदौ : प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महिला विभाग रुपन्देहीले आज बुटवलमा आयोजना गरेको ‘प्रशिक्षण तथा तीज मिलन कार्यक्रम’ मा उहाँले गलत सामाजिक परम्परालाई बदलेर सकारात्मक सन्देश दिनेगरी तीज मनाउनुपर्ने बताउनुभयो ।

“हिजोका दिनमा दुःख पीडा पोख्ने पर्वकारुपमा तीजलाई लिइन्थ्यो, अहिले अवस्था फेरिएको छ”, उहाँले भन्नुभयो, “आपसी सद्भाव र एकतालाई कायम राखेर चाड मनाउनुपर्छ ।”

पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अधिकारका लागि महिला एकजुट हुन जरुरी रहेको बताउनुभयो । नेकपाका जिल्ला सचिव निर्मल जिसी, महिला विभागका जिल्ला इञ्चार्ज विमला पन्थी, सहइञ्चार्ज ज्ञानु केसी, टीका गौतम लगायतले तीज पर्वलाई महिला समानता र सशक्तीकरणसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका कानून विभाग प्रमुख खुमकान्त पौडेलले लैङ्गिक समानता र कानूनी अवधारणाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया