तीन-तीन लाख जरिबाना, खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई

admin

काठमाडौं, ७ माघ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । अनुगमनका क्रममा बारामा रहेका दुई उद्योगले मूल्य बढाएको भेटिएपछि कारबाही गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिए ।

बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो । विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार तीन-तीन लाख रुपैयाँ जरिबाना गरेको उनले बताए ।

तीन महिनाअघिको तुलनामा अहिले तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढेको छ । स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा खाने तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया