तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, बैठकमा सीमा विवादको मुद्दा उठाउने

admin

काठमाडौं, १ माघ : तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली अघि बिहान सवा ११ बजे भारत प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने भएको छ । यस्तै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ ।

भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नेछन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया