तीन बुँदे सहमति भयो सरकार र विप्लव समूहबीच, विस्तृत विवरण भोलि सार्वजनिक गरिने

admin

काठमाडौं, २० फागुन : सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । बिहीबार बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् । सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहीबार संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच बुधबार पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ ।

यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया