‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’

राष्ट्रिय समाचार समिति

ललितपुर, २७ साउन : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताउनुभएको छ । फोर एच नेपालको संयोजनमा आज यहाँ आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ लाख खर्च गर्नुपर्ने बताउनुभयो ।

उहाँले चालू आव २०७६÷७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी गराउनुभयो । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाल नेपालको ४२ प्रतिशत जमीन बाँझो रहेकाले त्यसलाई प्रयोगमा ल्याउन युवा लक्षित कार्यक्रम अघि बढाएका छौँ ।”

यसैगरी कृषि मन्त्रालयले नेपालमा उत्पादन हुने तरकारी र फलफूलमा प्रयोग भएका विषादीको जाँचका लागि रु १५ करोड बजेटसहित तीन प्रयोगशाला स्थापना गर्ने योजना अघि बढाइएको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार नेपालले विसं २०७१ देखि तरकारी र फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्न शुरुआत गरेको हो । नेपालमा हाल १६९ विषादी प्रयोग हुने गरेका छन् । नेपालको तराई क्षेत्रमा बढी विषादीको प्रयोग भएका तरकारी उत्पादन भएको बताइन्छ ।

चालू आवमा मन्त्रालयले कृषिमा युवा कार्यक्रमलाई अघि बढाउन रु ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सो परियोजनामार्फत हाल नेपालमा रहेका ६६ प्रतिशत किसानलाई २५ प्रतिशतमा झारेर बाँकीलाई अन्य काममा लगाउने योजना अघि सारेको मन्त्री खनालले बताउनुभयो ।

प्रतिनिधिसभा, कृषि ,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिले किसानले उत्पादन गरेका अन्न उनीहरु आफँैले खान पाउनुपर्ने नीति बनाउन लागि परेका जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कृषिको वृहत सम्भावना रहेकाले युवालाई यसमा आत्मनिर्भर भएर राज्यसँग रोजगार प्राप्तिमा परनिर्भर बनाउँदै लानुपर्छ ।”

ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले सरकारले कृषिमा युवालाई आकर्षित गराउन भूमि नीति बनाउनु जरुरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “शिक्षित युवाले आधुनिक कृषिको विधि अपनाएर अघि बढेमा विषादी प्रयोग भएका तरकारी र फलफूल आयातमा रोक लाग्ने थियो ।”

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश साउदले नेपाललाई कृषिका माध्यमबाट अघि बढाउन सिँचाइ, उन्नत जातको बीउबिजन र दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । सरकारले समयमै विषादी परीक्षणको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन तथा कृषि वैज्ञानिक डा अजयकुमारले नेपालका किसानलाई उपयुक्त मात्रामा विषादी प्रयोग गर्न अनुरोध गर्नुभयो । रासस

प्रतिक्रिया