तीन वटा दशैँ २०७८ सालमा

admin

काठमाडौं, १७ फागुन : २०७८ सालमा तीन दशैँ परेको छ । यो वर्ष चैत्रशुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । बैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।

यसैगरी २०७८ सालको चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । वडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आउँदो वर्ष असोज २१ गते बिहीवार घटस्थापना गरेर सुरु हुने भएको छ ।

असोज २७ गते बुधवार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ ।

लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । चैत्रशुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्रि पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्त्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । वर्षमा चार पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ ।

असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उनले जानकारी दिए ।

प्रतिक्रिया