तुहियो वैकल्पिक सरकारको सम्भावना, एउटै हतियार बन्नपुगे महन्त ठाकुर किन ओली सरकारकै पक्षमा ?

admin

काठमाडौं, २८ बैशाख : नेपालमा राजनीतीक गरिविधिका कारण बैकल्पिक सरकार गठनको सम्भावना कम देखिएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताएसँगै वैकल्पिक सरकार गठनको सम्भावना कम देखिएको हो । अध्यक्ष ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नुलाई मधेश विरोधी कामको संज्ञा पनि दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएर सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर संयुक्त विज्ञप्ती जारी गरेको केही घण्टापछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै यस्तो संज्ञा दिएका हुन् ।

सोमबार संसदमा जसपाकै डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए । जसपामा भट्टराई-यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन् । जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन् । आफ्ना पार्टीले उठाएका मुद्दा बारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्य प्रगति समेत भइरहेकाले आफू अर्को सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन् ।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ ।’

ओली सरकारले नै आफूहरुको माग पूरा गरिरहेको अवस्थामा नयाँ सरकार बनाउने गतिविधमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको ठाकुरको निचोड छ । ठाकुरले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भइ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएलगत्तै ठाकुरको यस्तो निष्कर्ष आएको हो ।

उनको यो निर्णयसँगै अब बहुमतको सरकार गठन गर्ने कांग्रेस माओवादीको योजना चकनाचुर भएको छ । नयाँ सरकार नबनुन्जेल केपी शर्मा ओलीलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनिसकेकी छिन् भने नयाँ प्रक्रियामार्फत उनलाई पुनः प्रधानमन्त्री बन्ने बाटो पनि खुलै छ । यस्तै अध्यक्ष ठाकुरले वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नरहेको जानकारी लिखित रुपमा नै राष्ट्रपतिलाई गराउने भएका छन् ।

सोमबार प्रेस वक्तव्य जारी गरी जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने बताइसकेका उनले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराउन लागेको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार व्यवसथ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने व्यवस्था छ ।

अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाहेक अन्य दलको संस्थागत सहभागिता देखिन्न । यस्तै उपेन्द्र यादव उक्त गठबन्धनमा भए पनि उनले दलको प्रतिनिधित्व नगर्ने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । व्यक्तिगत रुपमा पक्ष विपक्षमा उभिनुको अर्थ नरहेको उनको भनाइ छ । दलले समर्थन गरेको निर्णय पेश नहुन्जेल व्यक्तिगत रुपमा यति सांसदहरुको समर्थन छ भनेर लैजान नमिल्ने भएकाले जसपाको भरमा देउवा र प्रचण्डलाई नयाँ सरकार गठन गर्न अघि नबढ्न ठाकुर र महतोले सुझाव दिएका छन् । त्यसका लागि कि त उपेन्द्र यादवले नयाँ दल दर्ता गर्नुपर्छ ।

राष्ट्रपतिले दिएको ३ दिनको समयभित्र जसपा फुटाएर बाबुराम भट्टराई र उपेन्द्र यादवले नयाँ दल दर्ता गर्न पनि सम्भव नरहेको नेताहरु बताउँछन् । माधव नेपाल पक्षसँग पनि अहिले दलीय हैसियत नरहेको र उपेन्द्र यादवले जसपाको दलीय आधिकारिता बोक्न नसक्ने भएकाले तीन दिनभित्र वैकल्पिक सरकारको सम्भावना नरहेको महतोले बताए । माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिए पनि वैकल्पिक सरकारका लागि कांग्रेस-माओवादी गठबन्धनलाई बहुमत नपुग्ने अवस्था आउनेछ । उसै पनि माधव पक्षमा राजीनामा गर्ने संख्या न्यून भएकै कारण सोमबार सो निर्णयबाट पछि हटेर अनुपस्थित भएको अवस्था छ ।

जसपाको महन्थ ठाकुर पक्ष सभामुख अग्नि प्रसाद सापकोटसँग समेत असन्तुष्ट देखिएको छ । प्रतिनिधि सभामा बोल्नका लागि अन्य दलका मुख्य नेतालाई मात्र समय दिइएकोमा सभामुखले जसपाका प्रथम अध्यक्षलाई बोल्न दिएपछि लगत्तै उपेन्द्र यादवलाई समेत बोल्न दिएर दल विभाजन गरिदिएको आरोप ठाकुर पक्षको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई-यादव पक्ष) ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन् । जारी उक्त विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन् । नयाँ सरकार नबनुन्जेल ओलीलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनिसकेकी छिन् भने नयाँ प्रक्रियामार्फत उनलाई पुनः प्रधानमन्त्री बन्ने बाटो पनि खुलै छ ।

यता नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जसपामा देखिएको मत विभाजन बाधक पनि बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि उल्झन खडा भएको हो । सरकार गठनका लागि कांग्रेस र माओवादीलाई सिंगो जसपाको साथ चाहिन्छ तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणको पक्षमा नरहेको जनाएको छ ।

यस्तै कानुनविद्हरुका अनुसार संविधानको धारा ७६ को २ ले दुई वा दुई भन्दा बढी दलको बहुमत खोजेकाले सांसद थपथाप गरेर बहुमत पुर्‍याउने कुराको अर्थ छैन । त्यसैले नयाँ सरकार निर्माणका लागि जसपाको औपचारिक विभाजन र एमालेका झलनाथ खनाल-माधव नेपाल पक्षको सांसदको राजीनामा अनिवार्य बनेको छ । तीन दिनभित्र जसपाको औपचारिक विभाजन सम्भव नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

उपेन्द्र यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोको जिकिर छ । वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नसक्ने पनि महतोले दाबी गरे ।

उपेन्द्र यादवको सत्तालिप्सा पूरा नहुने पनि महतोले जिकिर गरेका छन् । महतोका अनुसार एमालेको खनाल नेपाल पक्षका सांसदको साथ सहयोगबाट पनि नयाँ सरकार बन्न सक्ने सम्भावना छैन । कांग्रेस सभापति देउवालाई सरकार बन्न सक्दैन भनेर भेटेरै सूचना दिएको महतोले बताए । महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनेछन् । त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उनको दाबी छ ।

संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ । यस्तै उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेका महतो भनाइ छ । तर, उनले आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने उनले बताए । आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ । यादवलाई पार्टीबाट निस्काशनसमेत हुने महतो बताएका छन् ।

यसअघि सर्वोच्च अदालतको निर्णयपछि पार्टीविहीन अवस्थामा पुगेका ओली नेकपा एमाले र माओवादी केन्द्र पूर्वअवस्थामा फर्किएपछि भने झन् शक्तिशाली बन्दै गएका छन् । तत्कालीन अवस्थामा नेपाल कम्युष्टि पार्टी नेकपाको बहुमत पक्षले पार्टीको साधारण सदस्यबाट हटाएको थियो । तर, आयोगले समयमा निर्णय नदिँदा र सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्किएपछि ओलीको शक्ति बढ्दै गएको देखिन्छ ।

अहिले एमालेमा नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै ओलीले शक्ति आफ्नो पक्षमा थुपारिरहेका छन् । माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई समेत आफूतिर तान्न विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका छन् । संसद् विघटन सर्वोच्च अदालतले असंवैधानिक ठहर गरे पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई संसद्बाट नै हटाउने माओवादी र कांग्रेसको प्रयास पनि जसपाले साथ नदिने भएपछि तुहिने सम्भावना बढेको छ ।

प्रतिक्रिया