बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज अस्पताल तोडफोड

राष्ट्रिय समाचार समिति

चितवन, ३ कात्तिक: चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो । सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडिको सिसा फुटेको उहाँले जानकारी दिनुभयो ।

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताउनुभयो ।

दुई महिनाअघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो । अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताउनुभयो । मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

प्रतिक्रिया