त्रिविमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी, एक महिनाभित्रै कक्षा १२ को नतिजा प्रकाशित गरिने

admin

काठमाडौं, १७ मंसिर : अबको एक महिनाभित्रै कक्षा १२ को नतिजा प्रकाशित हुने भएको छ । परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुनेछ । बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ ।

विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन् ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेको छ । अनलाइन कक्षा भइरहे पनि माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता कम छ ।

त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्म प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिने परिषद्ले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले आठ महिनाअघिदेखि रोकिएका परीक्षा पनि लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा भइरहेको हो । कोरोनाको कारण गएको चैतदेखि शैक्षिक संस्था बन्द छन् ।

प्रतिक्रिया