थप एक करोड डोज खोप किन्ने व्यवस्था भइसकेको छ, दशैँलगत्तै बालबालिकालाई लगाइन्छ : राज्यमन्त्री श्रेष्ठ

admin

काठमाडौं, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताएका हुन् ।

यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै एक लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए । सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाइ छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा ज्यान गुमाएका स्वास्थ्यकर्मीका बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए । कार्यक्रममा बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया