थप तीन लाख १२ हजारभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप, एक हजार २ सय ८२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ११ असोज : बितेको २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभर चलिरहेको खोप अभियानअन्तर्गत बितेको २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबै र अरू जिल्लामा ४५ बर्षमाथिका तथा अत्यावश्यक सेवालगायतका व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । यसैबीच बितेको २४ घण्टामा सहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६१ लाख ६५ हजार ५२ र एक मात्रा खोप लगाउनेको संख्या ६७ लाख ९३ हजार चार सय ५६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ८३ हजार दुई सय २१ पुगेको छ ।

यस्तै एक हजार दुई सय ६२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ६२ हजार चार सय १६ पुगेको छ । यही अवधिमा थप सात जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार एक सय तीन पुगेको छ । अहिले १८ हजार आठ सय ४८ जना सक्रिय संक्रमित रहेकामा तीन सय ८५ जनाको आईसीयू र एक सय २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया