थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरले स्वास्थ्यलाई असर गर्ने रसायन भेटिएपछि प्रयोग नगर्न आग्रह

अस्मिता बेल्बासे

काठमाडौं, १२ असोज : औषधि व्यवस्था विभागले गुणस्तरहीन थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।

विभागले केही दिन अघि पनि गुणस्तरहीन नौ वटा उद्योगका स्यानिटाइटर, मान्छेको ज्यानै लिन सक्ने मिथानोल पदार्थ मिसाएका स्यानिटाइजर बिक्री वितरण भएको पाइएको भन्दै उपभोक्तालाई सचेत हुन आग्रह गरेको थियो ।

विभागले ती विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ । बिक्री-वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाडौं, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौं लगायतले उत्पादन गरेका नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले आग्रह गरेका छन् ।

उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे । विभागले नौ वटा कम्पनीका स्यानिटाइजरलाई प्रतिबन्ध लगाउँदै प्रयोग नगर्न उपभोक्तालाई सचेत बनाएको छ ।

विभागले निम्न उद्योगका स्यानिजाइजरलाई प्रतिबन्ध लगाइसकेको छ ।
– चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन
– सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर
– हाइजिन सोप एन्ड केमिकल प्राली काठमाण्डौको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल
– आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर
– सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल
– सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर

प्रतिक्रिया