थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ असोज : ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिनुभयो । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन यातायात व्यवसायी गम्भीर भएर लागेका बताउनुहुन्छ ।

जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे÷नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए÷नभएको, सवारी साधनभित्र भाडादर राखे÷नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे÷नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे÷नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ ।

यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउनुहुन्छ । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउनुहुन्छ ।

“नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौँ”, उहाँले भन्नुभयो । यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ ।

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुभयो । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की–नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घण्टौँसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी प्रधान कार्यालयबाट ‘¥याकर’ (बिग्रेको सवारी तान्ने साधन)को व्यवस्था गर्नुभएको छ । जसले गर्दा कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरेको हो । जसले गर्दा चाडपर्वको बेला यातायात व्यवस्थापनमा सहजता हुने महाशाखाले विश्वास लिएको छ । अच्युत रेग्मी, रासस

प्रतिक्रिया