थारु समुदायमा मात्रै देखिने सिकलसेलका नौ बिरामी फेला

शर्मिला गुरुङ

कपिलवस्तु, २९ वैशाख : कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको आजसम्म थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ बिरामी फेला परेका छन्। वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई बिरामी छन् । लुम्बिनी प्रादेशिक अस्तालका सामाजिक सेवा एकाइ प्रमुख दयासागर पन्थीका अनुसार कपिलवस्तु जिल्लाबाट नौ जनाले औषधि सेवन गर्दै आएका छन् । पन्थीले सिकलसेलका बिरामीको अवस्था पहिलेभन्दा अहिले सुधार भएको जानकारी दिनुभयो ।

उहाले रासससंँग कुरा गर्दै सिकलसेल एनिमियाको औषधिको अभाव भएकाले अहिले धेरै बिरामी रित्तो हात फर्किनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि लिन आउने बिरामी पटक पटक आउँदै फर्कँदै गरिरहनुभएको छ ।”

वाणगङ्गा नगरपालिकामा कूल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोबास छ । लुम्बिनी प्रादेशिक अस्तालमा औषधि सेवन गरिरहेका बिरामीको तथ्याङ्कानुसार सो नगरमा सिकलसेलका बिरामीको सङ्ख्या अरु नगरपालिकामा भन्दा धेरै छ । रक्तअल्पता हुनु र हँसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । रोग लागेपछि विस्तारै शरीरका विभिन्न अङ्गले काम गर्न छाड्नाका साथै करीब १० देखि १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकको भनाइ छ । सिकलसेल एनिमिया भएका पति र पत्नीबाट जन्मिएका सन्तानलाई पनि सो रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् ।

वंशाणुगत रुपमा सर्ने सोे रोगबाट बच्ने उपाय विवाह गर्नुपूर्व सिकलसेल छ कि छैन भनेर जाँच गर्नुपर्ने वाणगङ्गा स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो । सिकलसेल भएका बिरामीमा हातखुट्टाको जोर्नी र टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने घिमिरेको भनाइ छ । वाणगङ्गा नगरपलिकाले गत आवमा सिकलसेल एनिमिया रोगका लागि भनेर रु तीन लाख बजेट छुट्टयाए पनि फ्रिज भएको थियो । सो बजेट उपयोगमा नआएपछि चालु आवमा बजेट नै नछुट्टयाइएको घिमिरेले बताउनुभयो । रासस

प्रतिक्रिया