दक्षिण कोरियाका नागरिकले क्यानडामा गाँजा खान नपाउने

रिता घिसिंग

एजेन्सी : दक्षिण कोरियाले आफ्ना देशका नागरिकले क्यानडा लगायत अन्य जुनसुकै देशमा गाँजा सेवन गरेको थाहा भएमा कारबाही गर्ने जनाएको छ ।

क्यानडामा गाँजाको व्यापार गर्न खुल्ला गरिएपछि दक्षिण कोरियाको यस्तो भनाई आएको हो । दक्षिण कोरियाका २३ हजार विद्यार्थी क्यानडामा रहेको र उनीहरुले गाँजा सेवन गरेको पाइए आफ्नै देशकै कानुन अनुसार कारबाही गरिने दक्षिण कोरियाले जनाएको छ ।

गएको केही हप्ता अगाडि क्यानडाले गाँजालाई वैधानिकता दिएपछि दक्षिण कोरियाले आफ्ना नागरिकले पनि गाँजाको प्रयोग गर्ने चिन्ता व्यक्त गरेको हो । दक्षिण कोरियाको प्रहरीले आफ्ना नागरिकलाई क्यानडाले ल्याएको नयाँ स्वतन्त्रतामा नरमाउन चेतावनी दिइरहेको छ ।

दक्षिण कोरियाको त्यो कानूनले संसारका कुनै ठाउँमा बस्ने आफ्ना नागरिकले कानून उलङ्घन गरेर गाँजा सेवन गरेमा घर फर्कने बेलामा कारबाही गर्ने जनाएको छ । गाँजा सेवन गर्नेले पाँच वर्षको जेल सजाय भोग्नुपर्नेछ ।

दक्षिण कोरियाले लागूऔषध कारोबार तथा सेवनमा कडा कारबाही गर्ने गरेको छ । दक्षिण कोरियाका अधिकारीहरुले देशलाई ‘ड्रग्स फ्रि नेशन’ बनाउने परियोजनामा काम गरिरहेका छन् ।

प्रतिक्रिया