दरबन्दी खोसिँदा अपाङ्गता भएका विद्यार्थी अन्योलमा

राष्ट्रिय समाचार समिति

भक्तपुर, ८ साउन : विगत दुई वर्षदेखि सात जना शिक्षकको दरबन्दी खोसिएपछि जिल्लास्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र ( सिबिआर) मा रहेका ७८ जना अपाङ्गता भएका बालबालिकाको भविष्य अन्योल भएको छ । सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वञ्चित हुँदा विशेष एवं समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका बालबालिकाको भविष्य अन्योलमा परेको हो

विगत दुई वर्षदेखि शिक्षकको तलब सुविधासमेत रोक्का भएपछि अपाङ्गता भएका बालबालिकाको स्कुल बन्द गर्नुपर्ने अवस्था आएको सिबिआर जिल्ला संयोजक रमेशराम श्रेष्ठले जानकारी दिनुभयो । दुई वर्षअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले सिबिआरले पाउँदै आएको सात वटा राहत शिक्षकको कोटा गायव गरेको उहाँको भनाइ छ ।

देश सङ्घीयतामा गएर माध्यमिक तहसम्मका शिक्षकको जिम्मेवारी एवं दायित्व नगरपालिकामा सरेपछि सिबिआरका सातजना राहत शिक्षकको कोटा गायव भएको उहाँको भनाइ छ । सिबिआरले अपाङ्गता भएकाका लागि भक्तपुरका दुई र मध्यपुरथिमी नगरमा एक गरी तीन वटा विशेष स्कुल सञ्चालन गर्दै आएको छ । उक्त स्कुलमा १५ बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअपाङ्गता भएका गरी ७८ जना अध्ययनरत छन् ।

सिबिआरले शिक्षा विभागबाट २०६१ साल र २०६३ मा एक÷एक तथा २०६६ सालमा थप छ वटा गरी आठ वटा प्राथमिक तहको राहत शिक्षकको कोटा प्राप्त गरेको थियो । उक्त कोटाकै एकजना शिक्षकको मृत्यु भएपछि सातमा झरेको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा विद्यालय शिक्षक अभिलेख दर्ता हस्तान्तरण गर्दा यस संस्थाअन्तर्गत कार्यरत शिक्षकको अभिलेख समावेश नगरिदिँदा स्थानीय तहमा अभिलेखिकरण हुन नसकेर शिक्षा विभागबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट गायव भएको संयोजक श्रेष्ठको भनाइ छ ।

सिबिआरका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापतिले तत्कालीन शिक्षा विभागबाट अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि सिबिआर संस्थाको नाममा बहिरा स्रोत कक्षा तथा बहुअपाङ्गता कक्षाका लागि छुट्याइएको विशेष राहत शिक्षक कोटा तथा आयाको कोटा अन्य विद्यालयमा हस्तान्तरण नै हुन नसक्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले सिबिआर र यहाँ कार्यरत सातजना शिक्षकको कुनै विवरण नै फेला नपरेको सञ्चालक सदस्य सुरेश प्रधानले जानकारी दिनुभयो । नगरपालिकामा विवरण नगएको तर विभागबाटै सिबिआरका राहत शिक्षकको दरबन्दी कटौती भएको जवाफ आएको बताइएको उहाँले बताउनुभयो । भक्तपुरमा रहेका ५९ राहत शिक्षक कोटाभित्रै सिबिआरका सात जनाको पनि विवरण रहेको प्रत्युत्तर दिएको सिबिआरका संयोजक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सिबिआरको समस्याबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराउँदा मन्त्री पोखरेलले २०७५ साल भदौ २६ गते ‘समस्या समाधान गरिदिने’ भनी शिक्षा विभागका महानिर्देशकलाई लिखित आदेश दिनुभएको थियो । शिक्षामन्त्रीकै लिखित निर्देशनपछि महानिर्देशक बाबुराम पौडेल आफैं सिबिआर र जिल्ला शिक्षा कार्यालय पुगेर समस्याबारे जानकारी लिए पनि हालसम्म समस्या सम्बोधन भएको छैन ।

दरबन्दी खोज्दै शिक्षा कार्यालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय र भक्तपुर नगरपालिका धाउँदैमा दुईवर्ष बितिसकेको श्रेष्ठले बताउनुभयो । यो अवधिमा आउनुपर्ने रु ४३ लाखसमेत नआउँदा शिक्षकलाई दुई वर्षदेखि तलब खुवाउन नसकिएको र संस्था नै बन्द हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया