दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा : पण्डित दीनबन्धु पोखेरेल

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३ साउन : जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका-१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।

सनातन गोरक्ष राष्ट्र नेपालले (हिजो) शनिबार गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे । यस अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए ।

‘पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छु, उनले भए । पण्डित पोखरेलले छुवाछुत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेका अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको ह त्या भएको स्मरण गरे । क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताए । जातमा कोही पनि ठूलो र सानो नहुने उनको भनाइ थियो ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलित मात्र नभइ हरेक समुदायमा हुने विभेदविरुद्ध युवा अगाडि बढ्नुपर्ने उल्लेख गरे । सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले सीप र कलाको धनी दलित समुदायलाई राम्रो व्यवहार गरेमा देशको विकासले गति लिने बताए । २०७५ सालमा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपालले विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया