दशगजामा भारतीय पक्की सडक र घर

admin

बर्दिया, १२ जेठ: बर्दियाको गुलरिया नगरपालिका–१० सँग जोडिएको नेपाल–भारत सीमा छुट्याउने दशगजामा भारतले एकतर्फी रूपमा पक्की सडक बनाइरहेको छ । सडक निर्माण भारतको सडक विभागअन्तर्गत पब्लिक वर्क डिभिजन (पीडब्लूडी) ले गरेको हो ।

सीमास्तम्भ नम्बर ६१ स्थित दशगजामा पक्की सडक निर्माणसँगै भारतीयले पक्की घर पनि बनाएका छन् । उक्त सडक भारतको बहराइच जिल्ला जोड्ने राजमार्गसम्म छ ।

गुलरिया–१० का वडाध्यक्ष वीरेन्द्र चौधरीले सडक निर्माण सशस्त्र द्वन्द्वका बेला सुरु भएको बताए । ‘दशगजा मिचेर पक्की सडक बनाइएको छ । पक्की घर पनि निर्माण भएका छन्,’ उनले भने ।

बर्दियाको गुलरिया नगरपालिकाको थपुवा, खालेपुरुवा र चौगुर्जी, राजापुर नगरपालिकाको सत्तार फारामलगायत सीमामा भारतीयबाट अतिक्रमण भए पनि स्थानीय प्रशासन बेखबर र निरीह भएको स्थानीयले गुनासो गरेका छन् ।

भारतीय घना जंगलसँगै जोडिएको सीमामा २ सय ४५ वटा सीमास्तम्भ रहेका छन् । तीमध्ये नेपाल–भारत छुट्याउने सीमामा गाडिएका मुख्य ७ सहित १ सय २५ वटा स्तम्भ हराएको सशस्त्र प्रहरी बलको ३१ नम्बर गणले जनाएको छ । ६ वर्षयता बबई नदीमा आएको बाढी र कटानले ३२ वटा सीमास्तम्भ बगाएको गणपति यादव विकले जनाए । कतिपय सीमास्तम्भ तोडफोड गरिएको अवस्थामा फेला परेका छन् ।

०७१ र ०७४ मा आएको बाढीले ३२ वटा ठूलासाना र मझौला सीमास्तम्भ बगाएको थियो । बबई नदीको कटानले मुख्य सीमास्तम्भ नम्बर ६६९ (५७), सहायक ६७२/२(५८) र ६७२–३(५९) उच्च जोखिममा रहेको छ । तीनवटै सीमास्तम्भ सदरमुकाम गुलरिया छेउका हुन् ।

करिब ६ महिनाअघि पराराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा आएको टोलीले नेपाल–भारत सीमाको केही मुख्य स्तम्भ अवलोकन गरेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सीमा विवादबारे परराष्ट्र मन्त्रालय र नापीले समाधान गर्नुपर्ने बताए ।

सीमा अतिक्रमणका विषयमा स्थानीय प्रशासनले छिमेकी मुलुकका समकक्षीसँग बारम्बार वार्ता गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन् । कान्तिपुर दैनिकले समाचार लेखेकाे छ ।

प्रतिक्रिया