दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा

राष्ट्रिय समाचार समिति

हेटौँडा, २२ असोज: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताउनुभएको छ । आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राख्नुभयोे ।

उहाँले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राख्नुभयो । उहाँले कृषकहरुका थुप्रै समस्याहरु सुनिने गरेको बताउँदै मल, बीउ, सिँचाइलगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कृषि प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताउनुभयो । उहाँले कृषिमा उपलब्धी हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री पौडेलले आज हेटौँडाको विभिन्न कृषि क्षेत्रको अवलोकन गर्नुभएको हो । दशैँमा समेत किसानको खेतबारीमा पुग्नुभएपछि व्यावसायिक किसानहरु खुशी भएका छन् । मुख्यमन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु खुशी भएको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीका सञ्चालक बालकृष्ण चौलागाईँले बताउनुभयो ।

मुख्यमन्त्रीले यस क्षेत्रको कृषिमा ठूलो चासो राख्नुभएको तथा हौसला प्रदान गर्नुभएको चौलागाईँको भनाइ छ । उहाँले यस क्षेत्रमा सिँचाइको समस्या रहेको बारे मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले भूमिगत सिँचाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया