दशैँ मनाउन नेपाल आए सिकारी चरा

admin

काठमाडौँ, कात्तिक १५ : दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् ।

मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा. तुलसी सुवेदीले जानकारी दिए । “उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,” उनले भने ।

सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् । एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू मङ्गोलिया, चीन, रसियालगायतका देशबाट बसाइ सरेर सिकारी चरा नेपाल आउने गरेको चराविज्ञ सुवेदीले बताए । उनका अनुसार जाडो बढेपछि आफ्नो मुलुकमा सिकार खोज्नसमेत कठिन हुने भएकाले पनि सिकारी चरा सहजताका हिसाबले नेपाल आउँछन् ।

प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन् ।

अमुर बाज भने रसियाको पूर्वी भेगमा अण्डा कोरलेर बच्चा हुुर्काइ बच्चासहित बसाइ सरेर नेपाल आउँछन् । त्यस्तै चाँदचन्द्र चिल, तोप बाज, सानो बौँडाइ, इम्पेरल चिल, ग्रेटर स्पोटर चिल, सुनौलो चिल, वन बाज, तीन चार प्रजातिका भुईं चिललगायतका सिकारी चरा नेपाल आउने गरेका छन् ।

नेपालमा यीसहित ३५ प्रजातिका सिकारी चरा बसाइ सरेर आएको अघिल्लो वर्षको अभिलेखमा उल्लेख छ । गत वर्ष भने २५ प्रजातिका मात्र सिकारी चरा नेपाल आएका थिए । नेपालमै विचरण गर्ने सिकारी चरा भने ६० प्रजातिका छन् । यिनीहरू दिनमा सक्रिय रहेर सिकार गर्न रमाउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया