दशैँ लक्षित खसीबोका बजार शुरु

राष्ट्रिय समाचार समिति

रौतहट, ११ असोज : ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन् । गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो । अहिले जोखेर नै बिक्री गर्न थालेको चन्द्रपुर नगरपालिका–२ रैयाटोलका किसानहरु बताउँछन् ।

पारिश्रमिक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले अहिले टोलकै संकलन केन्द्रमा जोख्ने उपकरण जडान गरिदिएपछि उनीहरुले पालेका खसीबोका जोखेर बिक्री गर्न थालेका हुन् । सहकारी संस्था लिमिटेडमा आबद्ध २६८ जना महिला शेयर सदस्यहरूले पालेका खसीबोका हरेक मङ्गलबार लाग्ने रैयाटोल खसी बजारमा खसीबोका जोखेर नै बिक्री वितरण गर्दै आएका छन् ।

ठाडो मूल्यमा ‘बिचौलिया’ हरुलाई खसीबोका बिक्री गर्दा किसानहरु मारमा पर्ने गरेको कारण अब किसानहरुले जोखेर बिक्री गर्न लागेको सो संस्थाकी सचिव रिता थापाले जानकारी दिनुभयो । यसैबीच सो संस्थाले नजिँकदै गरेको बडादशैँलाई लक्षित गरी खसीबोका बजार लगाएको छ । संस्थामा आबद्ध महिला सदस्यहरुले पालेको खसीबोका त्यही बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

महिलाहरुको जीविकोपार्जन र आर्थिक सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका महिलाहरु अहिले खसीबोका पालन व्यवसायमा जोड दिएका छन् । महिला सदस्यहरुले पालन गरेको खसीबोका बिक्रीका लागि लक्षित गरेर लगाइएको बजारमा व्यापारीहरु खरीद गर्न आउने गरेका छन् । तीस किलोग्रामभन्दा कमको खसीबोकाको जीउँदो प्रतिकेजी रु ५०० र ३० केजीभन्दा माथिको खसीबोकाको जीउँदो प्रतिकेजी रु ५५० बिक्री मूल्य तोकिएको सचिव थापाले बताउनुभयो ।

दशैँ लक्षित लगाइएको बजारमा मङ्गलबार मात्र १६३ वटा बोकाको तीन हजार २५२ किलो,४९ वटा खसीको एक हजार ४२८ किलो, दुई वटा माउ बाख्रा र सात वटा पाठीको १०३ किलो बिक्री भएको स्थानीय पशु प्राविधिक राजन थापाले जानकारी दिनुभयो ।

खसीबोका पाल्न थालेपछि यहाँका महिलाहरूको आयआर्जनमा समेत वृद्धि भएको छ । प्रत्येक महिला सदस्यले कम्तिमा दुई देखि पाँच वटासम्म खसीबोका र पाठी बेच्ने गरेका छन् । खसीबोकाको मुख्य बजार गौर, चपुर, वीरगञ्ज, जनकपुर, नारायणगढ र काठमाडौं हो । स्थानीय खसीको माग बढेकाले उनीहरुलाई बिक्री नहुने चिन्ता पनि छैन ।

भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख र मुलुकभर १ करोड १८ लाख खसीबोका आवश्यक पर्ने तथ्यांक छ ।

प्रतिक्रिया