‘दश वर्षमा देशको कृषि क्षेत्र पूर्ण अर्गानिक बन्छ’ : मन्त्री खनाल

admin

पशुपतिनगर, २१ साउन : कृषि तथा पशुपक्षि विकासमन्त्री चक्रपाणि खनालले देशको कृषि प्रणालीलाई पूर्णरुपमा अर्गानिक बनाउन काम शुरु गरिएको बताउनुभएको छ । रासायनिक मल र विषादीमा अबौँ रुपैयाँ खर्च गरे पनि मागअनुसारको आपूर्ति गर्न नसकिएकाले सरकारले अर्गानिक अभियानको थालनी गरेको उहाँले बताउनुभयो । जैविक विषादी र प्राङ्गारिक मल उत्पादनका लागि सरकारले देशका चार प्रदेशमा चालू आर्थिक वर्षमा काम शुरु गर्न रु ५२ करोड बजेट विनियोजन गरिएको मन्त्री खनालले बताउनुभयो ।

उहाँले कृषि क्षेत्रको अर्गानिकरणका लागि कर्णाली प्रदेशलाई पहिलो चरणमा प्राथमिकता दिइएको बताउनुभयो । “कृषकलाई सहुलीयतमा ऋण दिन भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । विभिन्न शीर्षकमा अनुदानभन्दा भूमि बैंक स्थापना गरेर एकदेखि दुई प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने गरी कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । चिया क्षेत्रमा देखिँदै आएका समस्या समाधानका लागि इलामको सूर्योदय नगरपालिका आउनु भएका मन्त्री खनालले चियाको आफ्नै जात, चियाको नेपाली लोगो र चियाको बजारीकरणका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले अर्गानिक चियाको आफ्नै बजार स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रासायनिक मलमा अनुदानभन्दा पनि आगामी दिनमा उद्योग स्थापना र जैविक मल उत्पादनमा सहयोग गरिने बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक दीपक खनालले चिया क्षेत्रमा सबै पक्षबाट आक्रमण भइरहेकाले आफूहरु चिया जोगाउने अभियानमा लागेको बताउनुभयो । उहाँले मजदुर आन्दोलनका कारण यस यामको शुरुमै चिया क्षेत्र धरापमा परेको बताउनुभयो । चिया किसान अर्जुन भट्टराईले चियाको बजारीकरण र मूल्य निर्धारणका लागि मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभयो । चिया उत्पादक जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम गुरुङले चिया क्षेत्रका समस्या समाधान गर्न राज्यले पहल गर्नुपर्ने बताउनुभयो । यसैबीच मन्त्री खनालले सूर्योदय नगरपालिका क्षेत्रको अर्गानिक चिया उत्पादन गर्ने गोर्खा टि स्टेटको समेत आज भ्रमण गर्नुभएको थियो । रासस

प्रतिक्रिया