दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

admin

काठमाडौँ, ७ कात्तिक : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।

‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने ।

प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।

प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनको समेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड फोर्ससमेत राखिएको बताए । सो फोर्सले आपतकालीन अवस्थामा प्रहरी परिचालनको अधिकार राखेको हुन्छ ।

प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षसमेत राखेको छ । उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ ।

यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया